काठमाडौँ उपत्यकामा दिउँसोको समयमा कर्फ्यु हट्यो, निषेधाज्ञा लागु रहने

 नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा कर्फ्यु हटाएको छ। सेनाले जारी सूचना अनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्र निषेधाज्ञा लागु रहनेछ। बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म पुनः कर्फ्यु लाग्नेछ। 

जेनजी प्रदर्शनका क्रममा हिंसात्मक घटना भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको थियो। तर अहिले निषेधाज्ञा र कर्फ्यु खुकुलो बनाउँदै जनजीवन सामान्य उन्मुख छ। बिहानको समयमा सवारी साधनको संख्या अघिल्लो दिनको तुलनामा बढेको देखिएको छ।

देशभर कर्फ्यु आदेश दिइएको थियो, अहिले भने काठमाडौं उपत्यकामा मात्र सीमित गरिएको छ। उपत्यका बाहिरका जिल्लामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु र निषेधाज्ञा जारी गरिरहेको छ। सेनाको उद्देश्य भिडभाड रोक्नु र सुरक्षा कायम गर्नु हो।