आगामी सरकारको नेतृत्वबारे असन्तुष्टि जनाइरहेका जेनजी प्रतिनिधिलाई नेपाली सेनाले आज (बिहीबार) बिहान सम्पर्कमा आउन आग्रह गरेको छ ।
जंगीअड्डा बाहिर सेनाका प्रतिनिधिले बुधबार साँझ माइकिङ गर्दै यस्तो सूचना सार्वजनिक गरेका हुन् । सरकार नेतृत्वबारे असहमति जनाउँदै जेनजी समूहले बुधबार जंगीअड्डाबाहिर नाराबाजी गरेका थिए । ‘को–को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो ग्रुपको विवरण नाम र सम्पर्क नम्बरसहित भोलि बिहान उपलब्ध गराउनुहोस्,’ सेनाका प्रतिनिधिले भनेका छन्, ‘एक–एकजना ग्रुप लिडरको नाम लेखेर बुझाइदिनुहोस् ।’
यसअघि बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सम्भावित नेतृत्वकर्ताका रूपमा प्रस्ताव गरेका थिए । तर, बाहिर भेला भएका केही युवाले सो प्रस्तावविरुद्ध नाराबाजी गरेका थिए ।
यस्तै, केहीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई अगाडि सार्नुपर्ने बताइरहेका बेला बालेनले भने कार्कीलाई समर्थन जनाएका छन् । बालेनले जेनजी प्रतिनिधिहरूले प्रस्ताव गरेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा अन्तरिम सरकारको नेतृत्वका लागि समर्थन जनाएका हुन् ।
उनले संसद् विघटन आवश्यक रहेको पनि जोड दिएका छन् । अन्तरिम सरकारको नेतृत्व गर्नुपर्ने जेनजीको प्रस्तावप्रति पूर्वप्रधानन्यायाधीश कार्की पनि सकारात्मक देखिएको विवरणहरू आइरहेका छन् ।





