नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बुधबार बेलुका पाँच बजेसम्म देशभर कर्फ्यू आदेश जारी गरिएको हो।
“कर्फ्यू आदेश भोलि २६ गते बिहान ६ देखि बेलुका ६ बजेसम्म पुन: जारी रहने छ,” प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने। कर्फ्यूको समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्किएर सहयोग पुर्याउन सेनाले जनतालाई अनुरोध गरेको छ।
कर्फ्यूको समयमा एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधन सञ्चालन हुने बस्नेतले बताए।
आन्दोलनपछिको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधान गर्न सम्बद्ध पक्षसँग समन्वय भइरहेको उनले बताए।
“आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्तिलक्षित आक्रमणलाई दण्डनीय अपराधका रूपमा लिई कडा कारबाही हुनेछ,” जंगी अड्डाले जारी गरेको सूचनामा भनिएको छ।





