रवि लामिछानेलेको अपिल : देशको सम्पत्ति जोगाऔँ, जेनजीको नेतृत्व स्वीकारौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले राष्ट्रका सम्पत्ति जोगाउन र संयमित रहन जेनजी आन्दोलनकारीलाई अपिल गरेका छन् । सहकारी प्रकरणमा मुछिएर कारागारमा रहेका उनलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले बाहिर निकालेका थिए ।

साँझ एक अपिल जारी गर्दै लामिछानेले देश लुट्नेहरूले सजाय पाउने क्रम सुरु भएको दाबी गर्दै उनीहरूको निजी सम्पत्ति तीन पुस्तासम्म लुटेर जोडिएको आरोप लगाए ।

लामिछानेले ती व्यक्तिहरूको सम्पत्ति पूर्ण रूपमा राष्ट्रियकरण गर्नुपर्ने र कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् । तर अब आन्दोलन अत्यन्त संयमित ढंगले अघि बढाउँदै राष्ट्रका सम्पत्ति जोगाउनुपर्नेमा उनले सबैको ध्यानाकर्षण गराएका छन् ।

प्रहरी, सुरक्षा निकाय, न्यायालयलगायतका संवेदनशील दस्तावेजहरू राष्ट्रका महत्त्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै उनले तिनको संरक्षण गर्न नसकिए मुलुककै लागि ठुलो क्षति हुने चेतावनी दिएका छन् । “सरकारी सम्पत्तिमा क्षति हुँदा राष्ट्रकै सम्पत्तिको क्षति हुन्छ, त्यसको संरक्षण गर्नु नागरिककै जिम्मेवारी हो,” उनले भनेका छन् ।

लामिछानेले यो आन्दोलन विशुद्ध जेनजी पुस्ताको भएको बताउँदै मुलुकको अबको नेतृत्व पनि जेनजीकै माग र परिकल्पनाअनुसार अघि बढ्नुपर्ने धारणा राखे । साथै उनले आफू सदैव नागरिक सर्वोच्चताको पक्षमा रहेको भन्दै आम नागरिकको दबाबपछि कानुनी प्रक्रिया पूरा गरी सरकारबाट पत्र थमाएपछि मात्र कारागारबाट रिहा भएको उल्लेख गरे ।

“यो आन्दोलन बिशुद्द जेनजीको हो । मुलुकको अबको नेतृत्व जेनजीकै माग अनुसार र जेनजीकै परिकल्पना अनुरूप अघि बढ्नुपर्छ भन्ने कुरामा म स्पष्ट छु । र म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु । आमनागरिकको दबाब पछि सरकारले मेरो रिहाइको लागी कानुबमोजिमको प्रकिया पूरा गरी पत्र थमाएपछि मात्रै म कारागारबाट रिहा भई सिधै आम नागरिकसामु आउन पाएको हुँ । यसका बाबजुद पनि मुलुकको कानुन प्रति बफादार हुँदै भबिष्यमा आइपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु,” उनले अपिलमार्फत भनेका छन् ।

एक सचेत नागरिकका रूपमा सबैलाई संयमित हुन उनले आग्रह गरेका छन् ।