निजामती सेवाले नागरिकको विश्वास जित्नुपर्छ : मन्त्री न्यौपाने

 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती सेवालाई प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो बनाउनुपर्नेमा जोड दिएकी छिन् । २२ औँ निजामती सेवा दिवस-२०८२ को अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री न्यौपानेले तीव्र रूपान्तरण भइरहेको आजको युगमा डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता, बिग डाटा, र नवप्रवर्तनशील उपायहरूको उपयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने बताइन् ।

मन्त्री न्यौपानेले व्यावसायिक र तटस्थ निजामती सेवाविना कुनै पनि राष्ट्रको शासन पद्धति प्रभावकारी बन्न नसक्ने यथार्थ औँल्याएकी छिन् । उनले निजामती सेवाले सरकारलाई नीति निर्माणमा सहयोग गर्नुका अतिरिक्त यसको कार्यान्वयन, सेवा प्रवाह र विकास व्यवस्थापनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सक्षम, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री प्रशासन अपरिहार्य हुन्छ,’ मन्त्री न्यौपानेले भनिन्, ‘त्यसैले, निजामती सेवाले प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो सेवा प्रणालीमार्फत नागरिकलाई छिटो, सरल र पारदर्शी सेवा दिनु अनिवार्य बनेको छ ।’

कर्मचारीहरूको क्षमता अभिवृद्धि, व्यावसायिकता, निरन्तर सिकाई र सुधारमार्फत नागरिकको विश्वास आर्जन गर्न सकिनेमा उनले जोड दिएकी छिन् । ‘राज्यप्रति जिम्मेवार, सदाचारयुक्त, परिणाममुखी र सृजनशील प्रशासनिक संरचना निर्माण गर्नु आजको आवश्यकता हो,’ उनले भनिन् ।

मन्त्री न्यौपानेले निजामती सेवा दिवसले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई देश र जनताको सेवा गर्न अझ प्रोत्साहित गर्ने विश्वास व्यक्त गर्दै शुभकामना प्रदान गरेकी छिन् ।