नेकपा (एमाले)को दोस्रो विधान महाधिवेनशन आजबाट शुरू हुँदै

नेकपा (एमाले)को दोस्रो विधान महाधिवेनशन आजबाट शुरू हुँदै छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज महाधिवेनशनको उद्घाटन गर्नेछन् ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र ३१५ जना सहभागी हुने छन् ।

केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गर्ने छन् । प्रस्तुत प्रतिवेदनमा समूहगत छलफल हुनेछ ।

पार्टी अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा विकसित राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै वर्तमानका मुख्य चुनौती, पार्टीको कार्यदिशा, कार्यभारलगायत विषय समेटिने उनले बताए ।

यसअघि बिहीबार बसेको एमाले सचिवालयले बैठकले दोस्रो विधान महाविधेशनको कार्यतालिका स्वीकृत गरेको थियो ।

कार्यतालिकाअनुसार ४० मिनेटको उद्घाटन सत्रपछि महाधिवेशन आजैदेखि दस्तावेज प्रस्तुतिकरणमा केन्द्रित हुने छ ।

बैठकले स्थायी कमिटी सदस्य कर्ण थापाको असहमति दस्तावेज पनि प्रस्तुत गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।