भोलिदेखि ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन सुरु हुँदै

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को विचार दस्तावेजमाथि छलफल गर्न भोलिदेखि ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन सुरु हुँदैछ । 

महाधिवेशनका प्रतिनिधिले शुक्रबारदेखि तीन दिनसम्म पार्टीको आन्तरिक जीवनबारे बृहत् छलफल गर्नेछन् । सो छलफल गर्न देशभरिका महाधिवेशनका प्रतिनिधि काठमाडौँ आउने क्रम जारी छ । 

एमालेको विधान २०४९ (दशौँ राष्ट्रिय महाधिवेशन २०७८ संशोधनसहित) को धारा-१५ मा विधान महाधिवेशनको व्यवस्था गरिएको छ । उक्त धारामा विधान महाधिवेशन केन्द्रीय कमिटीले दुई राष्ट्रिय महाधिवेशनकाबीचमा विधान महाधिवेशन आयोजना गर्ने उल्लेख गरिएको छ । 

विधानअनुसार विधान महाधिवेशनले महाधिवेशन सञ्चालन गर्न आवश्यक संरचना गठन गर्ने, केन्द्रीय कमिटीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोगका प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने उल्लेख छ । 

एमाले महासचिव शंकर पोखरेलले महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमाथि छलफल हुने बताए । “यो महाधिवेशनले पार्टीको विचारमाथि छलफल गर्नेछ”, उनले भने, “राष्ट्रिय महाधिवेशनले नेतृत्वमाथि छलफल गर्छ ।”

एमालेले नवौँ राष्ट्रिय महाधिवेशनपछि गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा पनि यसअघि नै विधान महाधिवेशन आयोजना गरेको थियो । यो महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कूल दुई हजार ३४१ जनाको सहभागी हुनेछन् ।