रुपन्देही-३ उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का ९ जना आकांक्षीहरू पार्टी सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन् । सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछानेलाई केही समयअघि भैरहवाबाट नख्खु सारिएको हो ।
रास्वापाले आजै आकांक्षीहरूमध्ये एकजनालाई उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ । उम्मेदवार टुंग्याउनका लागि पार्टी सचिवालय बैठक बस्नेछ ।
छनोट भएका आकांक्षीहरुमा पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, रुपन्देही-३ का क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट हालै मात्र फर्किएका बुटवल सेमलारका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, कोटहीमाईका जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल छन् । कुसुम, मधु, सुलभ र जितबहादुरबाहेक ५ जना भैरहवाका हुन् ।
रुपन्देही-३ बाट निर्वाचित राप्रपाका दीपक बोहराको निधन भएपछि कात्तिक १७ गते निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको हो ।





