माओवादीले जागरण अभियान पुनः थाल्ने

नेकपा (माओवादी केन्द्र) ले मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान पुनः थाल्ने भएको छ ।

हालै बसेको स्थायी कमिटी बैठकको निर्णय अनुसार भदौ २२ गते लमजुङबाट अभियान सुरु गर्न लागिएको महासचिव देव गुरुङले जानकारी दिए । महासचिव गुरुङले अभियानको कार्यतालिका पनि तय भइसकेको बताए । उनका अनुसार भदौ २१ गते बेलुका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टोली लमजुङ बास बस्ने, २२ गते लमजुङ खण्डमा कार्यक्रम आयोजना गर्ने र बेलुका गोरखा बास बस्ने, २३ गते गोरखा खण्डमा कार्यक्रम आयोजना गर्ने र बेलुका धादिङ बास बस्ने गर्ने तय भएको छ ।

यस्तै, भदौ २४ गते धादिङ खण्डमा कार्यक्रम आयोजना गर्ने र बेलुका नुवाकोट बास बस्ने र २५ गते दिनभर नुवाकोट खण्डमा कार्यक्रम आयोजना गर्ने र बेलुका काठमाडौं फर्कने तय भएको उनले बताए । उनका अनुसार बाँकी जिल्लाहरूको कार्यक्रम पछि तय गरिनेछ । सबै जिल्लाहरूमा एकरएक सार्वजनिक संवादको कार्यक्रम र एकरएक आन्तरिक सङ्गठनात्मक तथा प्रशिक्षण मूलक कार्यक्रम गर्ने, सार्वजनिक कार्यक्रमहरूमा सर्वपक्षीय प्रतिनिधिमूलक सहभागितालाई जोड दिने निर्देशन दिएका छन् । अभियानमा प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पार्टी उपाध्यक्ष र महासचिव रहनेछन । माओवादीले तराई मधेस जागरण अभियानपछि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान थालेको थियो। अहिले वर्षाको कारणले केही समय रोकेर फेरि सुरु गर्न लागेको हो । अभियानले पार्टीप्रति आकर्षण बढेको माओवादीको निष्कर्ष छ ।