नेकपा (एमाले)ले संगठित सदस्यता खारेज गरी प्रतिबन्ध लगाएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिक गतिविधि तीव्र पारेकी छिन् ।
२०–२२ भदौमा हुने विधान महाधिवेशनलाई केन्द्रमा राखी उनले पार्टीभित्र स्पेस बनाउन र ओलीविरोधी ध्रुवीकरणलाई बलियो बनाउन विभिन्न नेतासँग भेटघाट गर्दै आएकी छन् ।
अध्यक्ष केपी शर्मा ओलीले आजीवन नेतृत्व सुरक्षित गर्न ७० वर्षे उमेर सीमा, दुई कार्यकालको प्रावधान र पूर्वराष्ट्रपतिलाई पार्टी प्रवेश रोक्ने निर्णय गराएका छन् ।
यसलाई उल्ट्याउन भण्डारीले एमालेभित्र आफ्ना निकट नेताहरू सक्रिय तुल्याउँदै प्रतिपक्षी दल, सामाजिक अभियन्ता र युवासँग समेत सम्पर्क बढाएकी छन् ।
नयाँ बानेश्वरमा कार्यालय खोलेर उनले निरन्तर भेटवार्ता गर्दै आइरहेकी छिन् ।
भण्डारीले हालै रास्वपा प्रवक्ता मनिष झा, डा.शेखर कोइराला, मेयर बालेन शाह र विभिन्न सामाजिक अभियन्तासँग भेट गरेकी छन् ।
उनले रवि लामिछानेमाथिको मुद्दामा मानवीय सहानुभूति जनाउँदै नयाँ पुस्तालाई राजनीतिमा सहयोग गर्ने संकेत दिएकी छिन् ।
यसलाई ओलीविरोधी गठजोड बनाउन खोजिएको कदमका रूपमा हेरिएको छ ।
निकट स्रोतका अनुसार एमालेमा स्पेस नपाए खुला मोर्चामार्फत राजनीति अघि बढाउने ‘प्लान बी’ समेत उनले तयार राखेकी छन् ।
आगामी २०८४ को आम निर्वाचनलाई लक्ष्य गरी जनमत बनाउने उद्देश्यले विभिन्न क्षेत्रमा सक्रिय भएको स्रोतको दाबी छ ।
आगामी विधान महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा भण्डारी पक्ष फरक दस्तावेज पेस गर्ने तयारीमा छ ।
यसबीच १३ भदौका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक पनि प्रतिवादको तयारी बढेपछि स्थगित भएको भण्डारी पक्षको भनाइ छ ।
भण्डारी अहिले प्रदेश दौडाहामा छन् ।
कोसीपछि उनी मधेसतर्फ जाने कार्यक्रम छ, जहाँ पार्टीका नेता–कार्यकर्तासँग भेटघाट गर्ने तयारी गरिएको छ ।
यससँगै उनले आफूलाई राष्ट्रिय राजनीतिको ‘पावर सेन्टर’ का रूपमा उभ्याउने अभियानलाई निरन्तरता दिएकी छिन् ।





