प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको विश्वासको मतसम्बन्धी रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको छ ।
अधिवक्ता वीरेन्द्र केसीलगायतले दायर गरेको रिटमा न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले चार संवैधानिक प्रश्न उठाउँदै प्रधानमन्त्री र सभामुखलाई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।
जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि ओली सरकारको कानुनी हैसियतबारे प्रश्न उठेको हो ।
यसैबीच, सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाइसम्बन्धी निवेदन आज उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा सुनुवाइ हुँदैछ ।
उनले आफ्नो भागको बिगो रकम दाखिला गरेको दाबी गर्दै रिहाइको माग गरेका छन् ।
तर, जिल्ला अदालत रुपन्देहीले उनको भाग कति पर्छ भन्ने प्रष्ट नभएकाले रिहा नगर्ने आदेश दिएको थियो ।
सुप्रिम सहकारी ठगीमा १० करोड ९९ लाख रुपैयाँ बिगो कायम गरिएकामा रविले करिब २ करोड ७५ लाख रुपैयाँ बैंक जमानतका रूपमा पेश गरेका थिए ।
हाल उनी ललितपुरको नख्खु कारागारमा रहेका छन् ।





