नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आफ्नो पार्टीले सांसदहरूको हस्ताक्षर खाली कागजमा संकलन गरेको स्वीकार गरेका छन् ।
उनले यो संसदीय राजनीतिमा पुरानै चलन भएको बताउँदै आवश्यकताअनुसार उक्त हस्ताक्षर प्रयोग गरिने बताए ।
सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता भट्टराईले यो अभ्यास २०४८ सालदेखि नै चल्दै आएको र संसदीय व्यवस्था भएका अन्य देशहरूमा पनि सामान्य भएको दाबी गरे ।
पार्टीले आफ्ना सांसदहरूको हस्ताक्षर आकस्मिक राजनीतिक परिस्थितिका लागि पहिले नै लिएर राख्ने गरेको उनले बताए । ‘कुनै बेला अपर्झट प्रस्तावहरु दर्ता गर्नुपर्ने हुन्छ। त्यतिबेला माननीयहरु कोही विदेश गएका हुन्छन्, कोही काठमाडौं बाहिर हुन्छन् । त्यस्तो बेलामा प्रयोग गर्न पूर्वतयारीका लागि हस्ताक्षर लिएर राखिन्छ,’ उनले भने।




