भिजिट भिसा प्रकरणको संसदीय छानविनको माग गर्दै आएको रास्वपा र राप्रपाका सांसदहरुले बिहीबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
बिहीबार सदनमा आफ्ना धारणा राखेपछि दुवै दलका सांसदले बैठक बहिष्कार गरेका हुन्। त्यसअघि बैठक सुरु हुनेबितिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका थिए।
त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय उपलब्ध गराए। सांसद कार्कीले सरकारले जनमानसको भावना बुझ्दै भिजिट भिसा प्रकरणको छानविनका लागि संसदीय समिति बनाउनुपर्ने बताए।
उनले राज्य व्यवस्था समितिका सभापतिले नैतिकता देखाएपनि गृहमन्त्रीले भने नैतिकता जगाउन नसकेको टिप्पणी गरे। गृहमन्त्रीले न्यायलयमा समेत हस्तक्षेप गरेको उनको आरोप छ। त्यस्तै उनले सरकारका मन्त्रीहरुको आचरणबारे बुझ्दै उनीहरूको सम्पती छानविनका लागि हिम्मत देखाउन प्रधानमन्त्रीलाई सुझाव दिए।
त्यस्तै राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले भिजिट भिसा प्रकरणको संसदीय छानविन समिति गठन नभएसम्म आन्दोलन जारी रहने बताए। उनले केहि प्रकरणमा नैतिकताका आधारमा राजीनामा दिएपनि उनीहरुमाथि अनुसन्धान हुनुपर्नेमा जोड दिए।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदहरुले दुई महिना भन्दा बढि समयदेखि सदनमा निरन्तर विरोध जनाउदै आएका छन्




