आज चारवटा संसदीय समितिको बैठक बस्दै

आज विभिन्न चार समितिको बैठक बस्दैछ ।

आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।

अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्नेछ ।

त्यस्तै दिउँसो १ बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ को दफावार छलफल हुनेछ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट– २०२५’ का सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ उपर सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।