राष्ट्रिय स्वतन्त्र पार्टीले युवा नेतृत्वकर्ताहरुको सम्मेलन ‘फ्युचर लिडर्स समिट २०२५’ गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर समिट गर्न लागिएको रास्वपाले जानकारी गराएको छ । यही साउनको २७ गते अन्तर्राष्ट्रिय युवा दिवस परेको छ । रास्वपाको युवा तथा खेलकुद विभागले ‘फ्युचर लिडर्स समिट’ आयोजना गरेको हो ।
कार्यक्रम मार्फत युवाहरुको सामाजिक, राजनैतिक तथा आर्थिक क्षेत्रमा सशक्तिकरण, सीप विकास, डिजिटल पहुँच तथा साक्षरता र मानसिक स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्ने उद्देश्य लिइएको रास्वपाले जनाएको छ ।
समिटमा ७७ वटै जिल्लाबाट युवाहरूको उपस्थिति रहने विभागले जनाएको छ । कुपन्डोल हाइट, ललितपुरमा अवस्थित म्याक्सिम्स इभेन्टसमा कार्यक्रम आयोजना गरिएको छ ।





