प्रेम आलेलाई लक्षित गर्दै रावलले भने: नैतिकता पदमा साटे

vimrawal

धनगढी, २९ भदौ – नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका डोटीका संघीय सांसद प्रेम आलेलाई लक्षित गर्दै नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले पदका लागि नैतिकता बेचेको टिप्पणी गरेका छन् । आलेको नाम नतोके पनि रावलले पदका लागि चिप्लिएका नेताको सुदूरपश्चिमेलीले मूल्यांकन गर्ने बताए ।

‘हिजो एमालेमा कटिबद्ध छु भन्दै भाषण गरेको हामी सबैले सुनकै हौँ’, रावलले भने, ‘आज मन्त्री नपाए पार्टीमा बस्दैनौँ भन्दै फुत्तफुत्त हिँडेको पनि हामीले देखिसक्यौँ । यस्ताले के नैतिकताको कुरा गर्नु ? पदका लागि नैतिकता कहाँ फ्याँके, पत्तै पाइएन ।’

उनले पार्टीका केही मानिसलाई पटक पटक मौका दिँदासमेत अहिले साथ छाडेको बताए । ‘पद दिँदा हिजोसम्म तपाईंका लागि ज्यान दिन्छु भन्नेहरू आज छाडेर गएको देख्दा उनीहरूको स्वार्थ बुझ्ने मौका पाएँ’, उनले भने, ‘अब विगतबाट पाठ सिक्दै जानुपर्छ, सबैलाई समान व्यवहार गर्नेछु ।’

उनले लामो समयदेखि पार्टीमा लागेका तर कुनै जिम्मेवारी नपाएकाहरूको समेत मूल्यांकन गरिने बताए । ‘अब व्यक्ति होइन, पार्टीलाई ध्यानमा राखेर हामी अघि बढ्नुपर्छ‘, उनले भने, ‘व्यक्ति आउने-जाने भइरहन्छ, पार्टी जीवन्त हुन्छ ।’

उपाध्यक्ष रावलले पार्टी फुटाएर कसैको पनि हित नहुने बताए । एमाले बनाउन नेता, कार्यकर्ताले धेरै मिहिनेत गरेको बताउँदै रावलले यो पार्टीलाई छाडेर अर्को पार्टीमा जाने कसैको भविष्य नरहेको दाबी गरे ।

समन्धित समाचार