सञ्चारमन्त्री गुरुङ चीन प्रस्थान

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ चीनमा आयोजना हुने  ‘वर्ल्ड एआई कन्फ्रेन्स इन साङ्घाई’ उच्चस्तरीय सम्मेलनमा सहभागी हुन बिहिवार चीन प्रस्थान गर्नुभएको छ । 

विश्वका मन्त्रीहरु एवं सचिवलगायत उच्चपदस्थ सहभागी हुने सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को रणनीतिक विषयमा छलफल हुने जनाइएको छ । साउन १० देखि  १२ गतेसम्म आयोजना हुने सम्मेलनमा भाग लिन मन्त्री गुरुङ राति ११ः३० बजे त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँको निजी सचिव सुरथ पोखरेलले बताउनुभयो । भ्रमणमा मन्त्रीसँगै साथमा सूचना प्रविधि सल्लाहकार डा. शालिग्राम पराजुली र स्वकीय सचिव विक्रम न्यौपानेलगायत हुनुहुन्छ। 

सम्मेलनबाट एआईसम्बन्धी विषयमा साझा धारणा बनाउन सहयोग पुग्ने मन्त्रीका सूचना प्रविधि सल्लाहकार डा. पराजुलीको भनाइ छ । मन्त्री गुरुङ साउन १४ गते स्वदेश फर्कनु हुनेछ ।