ग्लोबल युथ पार्लियामेन्टको संयोजनमा सञ्चालन गरिएको राष्ट्रिय युवा संसद अभियान अन्तर्गत १६५ निर्वाचन क्षेत्रबाट अनलाइन भोटिङमार्फत चयन भएका युवा सांसदहरूको सपथ ग्रहण समारोह आज राष्ट्रिय सभागृह, काठमाडौंमा भव्य रूपमा सम्पन्न भयो।
उक्त समारोहमा उज्यालो नेपाल अभियानका संयोजक कुलमान घिसिङ, प्रेरणादायी व्यक्तित्व क्याप्टेन विजय लामा, वरिष्ठ व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा र वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

राष्ट्रिय युवा संसदको उद्देश्य युवालाई लोकतान्त्रिक प्रक्रिया, नीति निर्माण र नेतृत्व भूमिकामा सशक्त रूपमा संलग्न गराउनु हो। यो अभियानले युवाहरूको नेतृत्व विकास, सामाजिक–राजनीतिक चेतना अभिवृद्धि र नीति निर्माणमा सहभागी हुन प्रेरित गर्ने अपेक्षा गरिएको छ। निर्वाचित प्रतिनिधिहरूको कार्यकाल २ वर्षको हुनेछ।
ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले भने, “देशको अवस्था व्यवस्थापरिवर्तनले मात्र परिवर्तन भएन, अब विचार र पाखुरी भएका युवा एक ठाउँमा नजोडिँदासम्म परिवर्तन सम्भव छैन।” उनले राष्ट्रिय युवा संसदले नयाँ पुस्ताका नेताहरूलाई सशक्त बनाउँदै सकारात्मक दबाब सिर्जना गर्ने बताए।

अभियानका अभियन्ता सरोज बानियाँका अनुसार यो संसदले देशभरका युवाहरूको आवाजलाई एउटै साझा मञ्चमा ल्याउने, उनीहरूको आवाजलाई राजनीतिक र सामाजिक निर्णय प्रक्रियामा समावेश गराउने र राष्ट्रिय नीति निर्माणमा प्रत्यक्ष भूमिका खेल्न सक्षम बनाउने लक्ष्य राखिएको छ।

कार्यक्रममा सहभागी युवा सांसदहरू आगामी दिनमा संसदीय सत्र, नीति संवाद, नेतृत्व विकास तालिम र विभिन्न सामाजिक सरोकारका कार्यक्रममा सक्रिय भूमिका खेल्नेछन्।
देश निर्माणको अभियानमा युवाहरूको सार्थक सहभागिता सुनिश्चित गर्न राष्ट्रिय युवा संसदले नयाँ युगको नेतृत्वको जग बसाल्ने विश्वास गरिएको छ।










