नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले माओवादी नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा शर्माले माओवादी नेताहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र व्यक्तिलाई जिम्मा दिनुपर्ने प्रस्ताव गरेका हुन । कार्यक्रममा शर्माले भने,‘मैले पार्टीमा नेताहरूको सम्पत्ति छानबिन गरी पारदर्शी बनौँ र पार्टीले होइन, स्वतन्त्र व्यक्तिलाई छानबिन गर्न जिम्मा दिऔँ भनेको छु । बाहिर सुशासनका कुरा गर्ने आफूहरू अपारदर्शी हुने कुरा मिल्दैन भनेको छु ।’ शर्माले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीबाहेकका कम्युनिस्ट नेताहरू भ्रष्ट भएको आरोप पनि लगाएका छन् ।
उनले कम्युनिस्ट नेताहरूमा राज्यदोहन गर्ने र रातारात अर्बपति बन्ने चरित्र देखिएको पनि दाबी गरेका छन् । शर्माले पार्टी नेतृत्व पनि सामन्ती र निरंकुश बनेको आरोप पनि लगाएका छन् । पार्टीभित्र नेतृत्व वरिपरि गोलबन्द हुने, जयजयकार गर्ने, सलामी गर्ने प्रवृत्ति हावी भएको पनि उल्लेख गरेका छन् । कार्यकर्ता र नेताहरूमा त्यस्तो प्रवृत्ति हावी हुँदा नेतृत्व त्यस्तै व्यक्तिप्रति नतमस्तक हुने अनि आशीर्वाद दिने प्रवृत्ति मौलाएको शर्माको विश्लेषण छ । जसले गर्दा कम्युनिस्टहरूमा आलोचना र प्रश्न सुन्न सक्ने हैसितय गुमाइसकेको टिप्पणी उनले गरे ।
उनले कम्युनिस्ट पार्टीमा जनवादको अन्त्य भएको र केन्द्रीयतामात्रै बाँचेको टिप्पणी गरे । त्यसले गर्दा नेतृत्व केन्द्रीय निरंकुशतामा बदलिएको र त्यसले कम्युनिस्टलाई सामन्ती झुण्डमा परिणत गरेको आरोप लगाए । उनले संसदमा पनि सांसदको बोली बन्द भएको दाबी गरे । पार्टीहरूको ह्वीप प्रणालीले विचारमा बन्देज लगाएको शर्माको दाबी छ ।





