नेपाल समाजवादी पार्टीले पाँच महिनाको ‘प्रशंसा अभियान २’ सुरु गर्ने

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले पाँच महिनासम्म सञ्चालन हुने ‘प्रशंसा अभियान २’ सुरु गर्ने भएको छ।

शनिबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव सोनाम सिंह स्याङतानले यसअघि सम्पन्न पहिलो चरणको अभियान सफल र प्रभावकारी भएकाले दोस्रो चरण सुरु गर्न लागिएको जानकारी दिनुभयो।

“हामीले पाँच महिनाको प्रशंसा अभियान २ सञ्चालन गर्ने निर्णय गरेका छौँ। यो अभियान प्रशिक्षण, संगठन र सामाजिक परिचालनमा केन्द्रित हुनेछ। जनताको मुद्दा उठाउने, शासन प्रणालीमा देखिएका समस्याहरू र भ्रष्टाचारविरुद्धको अभियान हो,” स्याङतानले भन्नुभयो।

पहिलो चरणको तीन महिनाको अभियान सम्पन्न भइसकेको र अहिले दोस्रो चरणमा प्रवेश गरिएको उहाँले जानकारी दिनुभयो।

०८४ सालको निर्वाचन आउन अझै करिब डेढ वर्ष बाँकी रहेको अवस्थामा पार्टीले आफ्नो आन्तरिक संगठन मजबुत बनाउँदै जनसमस्या उठाउने रणनीतिमा काम गरिरहेको पनि उहाँले स्पष्ट पार्नुभयो।

“पार्टीको आन्तरिक शक्ति सुदृढीकरणको काममा हामी सक्रिय छौं,” स्याङतानले भन्नुभयो। —न्युज एजेन्सी नेपाल