सामान्य प्रशासन मन्त्री गुप्तादारा पदबाट राजीनामा

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

७८ लाख घुस प्रकरणमा मुछिए पछि उहाँले मंगलबार राजीनामा दिनुभएको हो ।

केही दिनअघि भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबिच घुस बार्गेनिङ भएको अडिओ सार्वजनिक भएको थियो ।

उहाँले आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाइसकेको बताउनुभयो ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, ‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ । कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ । म अहिले त्यसैको सिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु ।’