सरकार नढलेपनि प्रधानमन्त्री ओलीप्रतिको जनविश्वास ढलेको ढल्यै छ : माओवादी नेता पूर्णबहादुर घर्ती

नेकपा (माओवादी केन्द्र) का नेता तथा प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति जनताको विश्वास दिनप्रतिदिन खस्कँदै गएको टिप्पणी गरेका छन्।

शनिबार नेपाली रेडियो नेटवर्कको “नेपाली बहस” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको संवादमा नेता घर्तीले प्रधानमन्त्री ओलीको कार्यशैलीले जनविश्वास गुमाउँदै लगेको बताएका हुन्।

🔴 घर्तीको आरोपः जनअपेक्षा विपरीत ओलीको गतिविधि

“उहाँ जसरी गतिविधिमा लाग्नुभयो, जनताको आशा–अपेक्षा उहाँप्रतिको विश्वास त ढलेको ढल्यै छ त? कहिले कुलमान घिसिङमा लाग्नुहुन्छ, कहिले केशरजंग बरालमा लाग्नुहुन्छ, अहिले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि चलखेल भइरहेको चर्चा छ,” उनले भने।

उनको अनुसार प्रधानमन्त्री ओलीले आफूनिकट र अनुकूल व्यक्तिहरूलाई राज्यका महत्वपूर्ण निकायमा नियुक्त गर्न खोज्दा जनताको असन्तोष चुलिँदो छ।

🔸 ‘संख्याको बलमा टिकेको सरकार’

नेता घर्तीले वर्तमान सरकार संख्याको भरमा मात्र टिकिरहेको उल्लेख गर्दै भने, “सरकार कांग्रेस–एमालेकै रहने हो कि होइन भन्ने कुरा उनीहरूको समझदारीमा निर्भर छ।”

उनले सरकारको गलत कार्यशैली, नियुक्ति प्रक्रियामा पारदर्शिता नहुनुजस्ता विषयमा आफूहरुले जनतामाझ जाने र विरोध गर्ने स्पष्ट पारे।