राजतन्त्रको औचित्य छैन : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल २६ चैत


राजतन्त्रको औचित्य छैन : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

मोरङ—
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा राजतन्त्रको कुनै औचित्य नरहेको स्पष्ट रूपमा घोषणा गर्नुभएको छ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता नेपालले राजतन्त्रको युग समाप्त भइसकेको उल्लेख गर्नुभयो। “औचित्य समाप्त भएको राजतन्त्र फेरि फर्काउने दिवास्वप्नबाट मुक्त हुनुपर्छ,” उहाँले भन्नुभयो। उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहकै सहमतिमा मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागू भएको स्मरण गराउँदै अहिले पुनः राजतन्त्र ल्याउने प्रयास निरर्थक भएको टिप्पणी गर्नुभयो।

पूर्वप्रधानमन्त्री नेपालले संविधान निर्माणको सन्दर्भमा राजतन्त्रसँग भएको सहमतिलाई ऐतिहासिक निर्णयको रुपमा चित्रण गर्दै गणतन्त्र नै मुलुकको भविष्य भएको धारणा व्यक्त गर्नुभयो। उहाँले राष्ट्रको विकास र स्थायित्वका लागि गणतन्त्रात्मक शासन प्रणाली आवश्यक रहेकोमा जोड दिनुभयो।

फरक प्रसङ्गमा
नेता नेपालले वर्तमान संविधानमा केही खालका संशोधन आवश्यक रहेको बताएका छन्। उनले संविधानमा देखिएका व्यवहारिक कठिनाइहरूको समाधान गर्न समयसापेक्ष परिमार्जन गर्नुपर्नेमा बल दिनुभयो।

यसबाहेक, एमालेसँग एकीकरणको विषयमा पत्रकारहरूले उठाएको प्रश्नमा उहाँले तत्काल नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग पुनः एकताको सम्भावना नरहेको प्रस्ट पार्नुभयो। “राजनीतिक विचार र मार्गमा स्पष्ट भिन्नता रहेकाले तत्काल एकता सम्भव छैन,” उहाँको भनाइ थियो।

अन्ततः नेता नेपालले सबै राजनीतिक दलहरूलाई राष्ट्रिय हित र जनताको आवश्यकता अनुसार काम गर्न आह्वान समेत गर्नुभयो।