प्रधानमन्त्री ओलीले राजावादीहरुको आन्दोलनमा ‘मान्छे मारेर आउ’ भनेर पठाएको स्वागत नेपालको आरोप


प्रधानमन्त्री ओलीले राजावादीहरुको आन्दोलनमा ‘मान्छे मारेर आउ’ भनेर पठाएको स्वागत नेपालको आरोप
प्रहरीको कपडा लगाएर एमाले कार्यकर्ता प्रयोग भएको दाबी

रिपोर्टर्स नेपाल | २०८१ चैत २६, काठमाडौं — संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता अधिवक्ता स्वागत नेपालले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन्।

हिजो प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानमन्त्री ओलीले राजसंस्था पुनःस्थापनाको मागसहित भएको तीनकुनेको आन्दोलनमा दमन गर्न आफ्ना कार्यकर्तालाई प्रहरीको पोशाकमा पठाएको आरोप लगाए।

उनको दाबी अनुसार, “केपी ओलीले आफ्ना कार्यकर्तालाई ‘मान्छे मारेर आउ’ भनेर निर्देशन दिए। उनीहरूलाई युद्धमा प्रयोग हुने इन्सास हतियारसहित आन्दोलनमा पठाइयो। प्रहरीको पोशाकमा एमाले कार्यकर्ताहरू ढुङ्गा हान्दै देखिएका छन्,” – उनले भने।

स्वागत नेपालले प्रधानमन्त्री ओलीमाथि पत्रकारहरूलाई लक्षित गरी आक्रमण गर्ने निर्देशन दिएको आरोप पनि लगाए। “बाघले झम्टिएजस्तो झम्टिनु भनेको भिडियो प्रमाण पनि छ,” उनले दाबी गरे।

तीनकुनेमा भएको आन्दोलन हिंसात्मक हुनुमा राज्यको भूमिका रहेको भन्दै उनले राज्यले डरको कारण आन्दोलनलाई हिंसात्मक बनाएको बताएका छन्। उनका अनुसार, गत चैत १५ गतेको आन्दोलन राज्यकै कारणले नियन्त्रणभन्दा बाहिर गएको हो।

स्वागत नेपालले प्रश्न उठाएका छन् – “कर्फ्यू लाग्ने जानकारी दुई दिन अघिदेखि प्रधानमन्त्री ओलीलाई कसरी थाहा भयो? के यो पूर्वनियोजित योजना हो?” भन्दै उनले सरकारको नियतमा प्रश्नचिन्ह उठाएका छन्।

यो विषयमा प्रधानमन्त्री ओली वा एमालेले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।