आज हुन लागेको प्रदर्शनको आयोजक राप्रपा होइन, हाम्रो प्रदर्शन २६ गते हुन्छः लिङदेन

रा ष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५ गते काठमाडौंमा हुन लागेको राजावादीहरुको प्रदर्शनको आयोजक राप्रपा नरहेको स्पष्ट पारेका छन् ।

तर, यो प्रदर्शनमा राप्रपाको सक्रिय साथ सहयोग रहने उनले बताएका छन् । ‘चैत १५ गतेको कार्यक्रम हामी (राप्रपा) ले घोषणा गरेको होइन । साथीहरूले सल्लाह माग्नुभएको भए हामी त्यसो गर्न (जुधाउन) दिने थिएनौँ होला । तर, यो आन्दोलनको कुरामा राष्ट्रिय प्रजातन्त्र पार्टीको पूरा समर्थन छ ।’

उनले भने । शुक्रबार राजावादीको प्रदर्शन स्वतःस्फूर्त हुन लागेको र त्यसमा राप्रपाले साथ दिने लिङदेनले स्पष्ट पारे । राप्रपाले आफ्नै आयोजनामा काठमाडौंमा चैत २६ गते विशाल प्रदर्शन गर्ने लिङदेनले जानकारी दिए । राप्रपा आन्दोलनमा होमिइसकेको र आवश्यक परे संसदसमेत छाडेर आउने उनले बताए ।