काठमाडौंको त्रिचन्द्र क्याम्पसमा फेरि स्ववियु चुनाव स्थगित भएको छ । ५ चैतमा चुनाव हुन नसकेपछि १३ गतेका लागि तोकिएको थियो ।
तर विद्यार्थीको तालाबन्दीका कारण स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । ‘मतदानका लागि वातावरण सहज नदेखिएको र केही विद्यार्थीले क्याम्पसको मुख्य द्वारमा पुनः तालाबन्दी गरेकाले’ अनिश्चितकालका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन समितिले मंगलबार राति जारी गरेको सूचनामा उल्लेख छ ।
त्रिचन्द्रको स्ववियु अध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ । तीमध्ये स्ववियु अध्यक्षका उम्मेदवारद्वय विवेक बानियाँ र श्रीधर श्रेष्ठले मतपत्रको विषयलाई लिएर ताला लगाएका हुन् ।





