गोरखाबाट पूर्वराजाले भने- देशमा शान्ति चाहिएको छ

पूर्वराजा ज्ञानेन्द्र शाहले आज गोरखकाली मन्दिरमा पूजाअर्चना गर्नुका साथै देशमा सुख र समृद्धिको कामना गरेका छन् ।

आज गोरखा पुगेका पूर्वराजा शाहले मन्दिरमा पूजाअर्चना गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै देशवासीको सुख र समृद्धिको कामना गरेको जानकार दिएका हुन् । उनले अहिले देशमा शान्ति चाहिएको भन्दै कसैले पनि कसैको कुभलो चिताउन नहुने बताए । उनले आफूलाई गोरखा आउन पाएर खुसी लागेको पनि बताए । उनले अहिले देशमा कोही पनि केही गर्नका लागि डराउनु नपर्ने पनि बताए । उनले भने, ‘कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन । देशको शान्ति कायमै होस् । देशमा सुख होस् । सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ ।’ 

शनिबार बिहान १० बजे पूर्वराजा शाह गोरखा दरबारस्थित गोरखनाथ मन्दिरमा पुगेका थिए । त्यहाँ उनलाई मन्दिरका पूजारीहरूले स्वागत गरेका थिए । पूर्वराजा शाहले करिब २ घण्टा लगाएर गोरखनाथ र गोरखकाली मन्दिरमा पूजाअर्चना गरे । गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको पाइन्छ । उनकै आशिर्वादले तत्कालीन राजाहरुले युद्ध जितेको बताइन्छ । इतिहासहरुमा गोरखनाथको आशीर्वाद र प्रेरणाका कारण द्रव्य शाहले लिगलिगकोटमाथि विजय हासिल गर्न सफल भएको पढ्न पाइन्छ ।