गुल्मीमा स्ववियु निर्वाचनका लागि अनेरास्ववियु र नेविसङ्घबीच तालमेल

आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि गुल्मीमा अनेरास्ववियु र नेविसङ्घले तालमेल गर्ने भएका छन्। अनेरास्ववियु गुल्मीका अध्यक्ष आशिष गौतम र नेविसङ्घका जिल्ला सभापति सिजन रानाद्वारा हस्ताक्षरित विज्ञप्तिमा विभिन्न क्याम्पसहरूमा सहकार्य गर्दै अघि बढ्ने सहमति भएको उल्लेख छ।

सहमतिअनुसार, अनेरास्ववियुले रिडी, दिगाम, रुद्धावती, धुर्कोट, र शृङ्गेश्वर बहुमुखी क्याम्पसको नेतृत्व लिनेछ भने नेविसङ्घले रेसुङ्गा, जनज्योति, चन्द्रकोट, मानका टीकाराम, सत्यवती, र रुरु संस्कृत बहुमुखी क्याम्पसको नेतृत्व लिनेछ। नेतृत्व पाएका क्याम्पसहरूमा अध्यक्ष, कोषाध्यक्षसहित बहुमत सदस्य सम्बन्धित संगठनले लिने सहमति भएको छ। यस्तै, केही क्याम्पसहरूमा एक पक्षले नेतृत्व लिए पनि अर्कोलाई बहुमत सदस्य दिने सम्झौता गरिएको छ।

यसैबीच, अनेरास्ववियु (क्रान्तिकारी) ले भने स्वतन्त्र रूपमा चुनाव लड्ने घोषणा गर्दै गठबन्धनको सहमतिप्रति असन्तुष्टि जनाएको छ। जिल्ला अध्यक्ष किसान पाण्डेले दुई ठूला सत्ता साझेदार विद्यार्थी संगठनले छलफलविना निर्णय गरेकाले आफूहरू बलियो प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन्।