नेकपा एमाले मोरङको दशौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अजम्बर राई ४ सय ४६ मतसहित निर्वाचित भएका छन् ।
शुक्रबार साँझ सार्वजनिक मतपरिणामअनुसार अध्यक्ष केपी शर्मा ओली पक्षीय प्यानललाई कोशी प्रदेश अध्यक्षमा पराजित नेता विनोद ढकाल पक्षले पराजित गरेको हो । संस्थापन पक्षीय राजकुमार ओझाले ४०७ मत ल्याएका छन् ।
उपाध्यक्षमा पनि ढकाल पक्षकै प्यानलबाट सागर थापाले ४२२ मत ल्याउँदै निर्वाचित हुँदा संस्थापनकी शान्तिकुमारी लिम्बूले ३ सय ९१ मत ल्याइन् । सचिवमा पनि ढकाल पक्षको प्यानलका सोमराज थापाले ४६२ मतसहित निर्वाचित हुँदा संस्थापनका रविन थापाले ३६८ मत ल्याए ।
उपसचिवमा पनि ढकाल पक्षीय प्यानलका सन्तोष बान्तवाले ४९० ल्याएर निर्वाचत भए भने संस्थापन पक्षका इर्जालाल राजवंशीले ३११ मतसहित पराजित भए । महिला सचिवमा पनि ढकाल समूहकी उषा झाले ४ सय १८ मतसहित निर्वाचित हुँदा संस्थापनकी शिल्पा कार्कीले ४ सय ५ मत ल्याइन् ।




