अरुले पूर्वराजा भन्छन,म राजा नै भन्छु : डा.शेखर कोईराला

नेपाली काँग्रेसका सांसद डा.शेखर कोईरालाले जनतालाई खुशी दिन नसक्दा राजतन्त्रको माग गर्दै नागरिकहरुले प्रदर्शन गरेको बताएका छन् ।

झापामा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजा फर्काउनुपर्छ भन्नेकुरा नेपालमा मात्र नभइ फ्रान्स लगायतका देशहरुमा पनि हुने गरेको भन्दै नागरिकहरु असन्तुष्ट हुँदा अहिले प्रदर्शन भएको बताए । गणतन्त्रले जनतामा आशा, भरोसा जगाउन सक्यो की सकेन भन्नेकुरामा ध्यान दिन जरुरी हुने उनको भनाई छ । उनले राजतन्त्र फर्किने आफूलाई विश्वास नरहेको जिकिर गर्दै गणतन्त्रका रक्षकहरुले राम्रो काम गरेर देखाउनुपर्ने बताए ।

उनले भनेका छन्, ‘अरुले पूर्वराजा भन्छन,म राजा नै भन्छु । किनभने कार्यकारी भइसकेको व्यक्तिलाई पूर्व भन्ने चलन बाहिर छैन, नेपालमा मात्रै छ । राजाको कुरा हेर्दा हरेक देशमा चलिरहेको हुन्छ । आज पनि फ्रान्स जानुभयो भने पेरिसमा एउटा चिया पसल छ । चिया पसलमा राजा फर्काउनुपर्छ भन्ने गफ हुन्छ । यसले के देखाउँछ भने द्वन्द्व चलिरहेको हुन्छ । हामीले कसरी लिएका छौँ । राजाको बारेमा कुरा गरेर मात्रै हुँदैन । जनतालाई कतिको खुशी पार्न सकेका छौँ भन्ने हो । गणतन्त्र ल्यायौँ । त्यसले आशा, भरोसा जगाउन सकेका छौँ की छैनौँ भन्ने हो । राजा फर्किन्छ त भन्नुभयो, मलाई लाग्दैन । माईखोलामा धेरै पानी बगिसक्यो मलाई लाग्दैन । हामीले राम्रो काम गरेर देखाउने हो ।’

सांसद कोईरालाले अध्यादेशको विषयवस्तु भन्दा पनि संसद बोलाउने समयमा ल्याउनु गलत भएको बताए । उनले पाँच वटा अध्यादेश संसदबाट स्वीकृत भएपनि भूमी सम्बन्धी अध्यादेश किन् स्वीकृत नगरिएको भन्दै प्रश्न गरे । उनले नेपाली काँग्रेस सत्तामा रहेको तर सरकारमा भने नरहेको स्पष्ट पारे ।