गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरमा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएकाहरुलाई वार्तामा आउन आह्वान गरेका छन्।
आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नो केवलकार समूहले उठाएका बिषयप्रति सरकार गम्भीर भएको भन्दै वार्तामा आउन आह्वान गरेका हुन्।
उनले केवलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको जानकारी दिए। गृहमन्त्री लेखकले जनतालाई अनुभूत हुने गरि देशमा शान्ति सुव्यवस्था कायम गर्न गम्भीर रहेको उल्लेख गरे।
‘वार्ताका लागि गृह मन्त्रालयले सह-सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । आन्दोलनरत पक्षले वार्तामा अवरोध गरेपछि गृह मन्त्रालयले फागुन १२ मा फेरि वार्ताका लागि आव्हान गरेको छ,’ उनले भने, ’सरकार शान्तिपूर्ण ढङ्गले समस्या समाधानका लागि गम्भीर छ ।’
सिराहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको र दोषीलाई कारवाही गर्ने उनले उल्लेख गरे।
गृहमन्त्री लखेकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे। भेदभावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको उहाले बताए।
त्यस्तै उनले बिभिन्न विधेयकहरु सदनमा पुगेको भन्दै अन्य नीतिगत र कानुनी सुधार गर्ने बिषयमा छलफल भइरहेको जानकारी दिए।
भूकम्पपछिको पुनस्र्थापना र पुननिर्माणको कामले लय समातेको उहाको भनाइ छ। उनले सिमित स्रोत र साधनकाबीच अपेक्षित रुपमा काम हुन नसकेपनि सवैको साथ र सहयोगबाट उपलव्ध स्रोत र साधनको परिचालन गर्दै संवेदनशील ढंगले काम गरिरहेको अवगत गराए।





