भूमि अध्यादेशको पक्षमा मतदान गर्न १० करोडसम्मको अफर

जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ एवं प्रतिनिधि सभा सदस्य रेखा यादवले भूमिसम्बन्धी अध्यादेशको पक्षमा मतदान गर्न सरकारले सांसदहरुलाई १० करोडसम्मको अफर गरिरहेको आरोप लगाएकी छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले सरकारले भूमिसम्बन्धी अध्यादेशको पक्षमा मतदान गर्न सांसदहरुलाई ५ करोडदेखि १० करोडसम्म अफर गर्दै हिँडेको बताएकी हु्न् । राष्ट्रिय सभामा बहुमत नपुगेको कारण सरकारले अध्यादेशहरु संसद्मा पेश गर्न सकेको छैन । राष्ट्रिय सभामा जसपा नेपालका ३ जना सांसद छन् । सरकारलाई समर्थन गरेको दल जसपा नेपालले समर्थन गरेको खण्डमात्रै भूमि अध्यादेश पारित हु्न्छ ।

सरकारले दल विभाजन गराएर भएपनि भूमिअध्यादेश पारित गर्ने नीति लिन सक्ने उनको आशंका छ । तर, जसपा नेपाल विभाजन नहुनेमा आफू ढुक्क रहेको उनले बताईन् । ‘यो नौलो कुरो होईन । हेरौं न उनीहरुले के–के गर्छन् ? किनभने सत्तापक्षले आफू बाँच्न र बचाउन पार्टी विभाजन गर्ने क्रियाकलाप त गरेकै हो नि त । तर, हाम्रो पार्टी विभाजन हुँदैन भन्नेमा हामी ढुक्क छौं । अहिले पनि १० करोड, ५ करोडभन्दै हिँडेका छन् त बजारमा,’– उनले भनिन् ।

भूमि अध्यादेश जनताको हितमा नरहेको उनको दाबी छ । उनले सरकारलाई समर्थन गरेको दल भन्दैमा अनैतिक कार्यमा समर्थन गर्न नसकिने बताईन् । अरु ५ अध्यादेशमा समर्थन गर्नका लागि पनी सरकारले भूमि अध्यादेश फिर्ता लिनुपर्ने आफूहरुको शर्त रहेको उनले सुनाईन् । ‘जनताको हितको निम्ति आउनुपर्यो नि ? सरकारलाई समर्थन गर्यो भन्दैमा हामीले सरकारले गरेका अनैतिक कार्यहरुलाई समर्थन गर्ने हो त ? अरु ५ वटा अध्यादेश पनि हामीले पास गर्छौं नै भनेका छैनौं । त्यसमा पनि केही असहमति छन्, संशोधनसहित पास गर्ने, तर भूमिसम्बन्धी अध्यादेश फिर्ता लानैपर्छ । यस्तो अध्यादेशलाई हामीले पास गराउने कुरै आउँदैन,’– उनले भनिन् ।

दल विभाजनको नीति लिएर जसरी पनि भूमि अध्यादेश पारित गराइएको खण्डमा आफूहरु आन्दोलनको बाटो रोज्न बाध्य हुने उनको चेतावनी छ । उनले आफूहरु भूमि अध्यादेशको पक्षमा फर्किने सम्भावना नै नरहेको बताईन् । ‘गणतन्त्रमा जनता जनार्दन हुन्छन् । हामी जनतामाझमा जान्छौं । हामी आन्दोलन गर्छौं । हामी यो भूमि अध्यादेशको पक्षमा कुनै पनि हालतमा फर्केर आउने अवस्था छैन,’– उनले भनिन् ।