राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ताप्लेजुङको पाथीभर (मुकुम्लुङ) मा केबलकार निर्माणका लागि भइरहेको संघर्षप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै रास्वपा सांसद तोसिमा कार्कीले तत्कालका लागि केवलकारको निर्माण कार्य रोक्न माग गरेकी छन् ।
डा कार्कीले तत्काल निर्माण कार्य रोकी आन्दोलनतर पक्षसँग वार्ता गरि सहमति गर्न र थुनामा रहेका नागरिकलाई तत्काल रिहा गर्न माग गरेकी छन् । ‘पटक पटक प्रहरी प्रशासन र नागरिकबीच झडप हुने, आन्दोलनकारीहरु घाइते हुनेहुँदै आइरहेको छ । गोलीसमेत चल्ने र करोडौंको क्षति हुने गरेको छ । हिजोमात्र त्यहाँ अशान्त र असामान्य स्थिति देखा पर्यो । अहिले निषेधाज्ञा लागेको छ । यसरी राज्यको अर्कमर्णयताका कारण नागरिकहरु ‘एस’ केवलकार र ‘नो केवलकार’ को रुपमा विभाजीत भएका छन् । अराजक छन् । आक्रोशित छन् । तर,सरकारले उचित निकास दिन सकेका छैनन् । समाजवादको नारा भजाउने पार्टीहरु नै सरकारमा छन’ उनले भनिन् ।
सांसद कार्कीले आन्दोलनकारी र सरकारबीच भएको सहमित सरकारले उल्लंघन गरेको आरोप लगाएकी छन् । आन्दोलनकारीलाई गोली हानेर विकास नहुने उनको भनाइ छ । ‘सरकारले जनताप्रति देखाएको अभिभावकत्व यही हो त ? । त्यहाँ संरचनहरु बनाउँदा विवादरहित बनाउनेपर्ने दायित्व त्यहाँको सम्बन्धित आयोजना समिति र राज्यको हो । तर, त्यसो भएन् । यसअघि पनि सम्झौता भएको थियो । तर,त्यसो हुन सकेन् । माघ २२ गते पनि सम्झौता भयो । कार्यान्वयन हुन सकेन् । निसर्त रिहा गर्ने भनिएकोमा धरौटीमा रिहा गरिएको छ । सहमति उल्लंघन भएको छ । नागरिकप्रति विश्वास डगमगाएको छ । जुन ठाउँमा विकास निर्माणको काम हुँदैछ । त्यहाी ठाउँमा नागरिकलाई लाठ्ठी प्रहार गरेर । नागरिकमाथि गोली प्रहार गरेर । जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनास ? । हामी समग्र पार्टीको तर्फबाट यो निर्माण कार्य तत्काल रोक्न माग गर्दछौं’ उनले भनिन् ।





