आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं, फाल्गुन ६ – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने तय गरिएको संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० पेस गर्ने कार्यसूची रहेको छ। यसबाहेक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहित राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक २०८० छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै, विद्युतीय व्यापार (ई-कमर्स) विधेयक २०८१ पारित गर्न मन्त्री भण्डारीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०-८१ को ६५ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। साथै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ।

संसद् सचिवालयका अनुसार यी विधेयकहरू पारित गर्ने प्रक्रिया तथा छलफलहरू आजका बैठकमा महत्वपूर्ण रहनेछन्। यसैगरी, अन्य समसामयिक विषयहरूमा समेत छलफल हुने अपेक्षा गरिएको छ।