काठमाडौं, २०८१ फाल्गुन ५
गत शनिबार पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष, २०२५’ घोषणा कार्यक्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सोमबार अस्पतालबाट डिस्चार्ज भएका छन्। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भने अस्पतालमै रहेका छन्।
अस्पतालका निर्देशक किरण किशोर नकर्मीका अनुसार शनिबार घाइते भएका पौडेल र मेयर आचार्यलाई अस्पतालमा भर्ना गरिएको थियो। उपचारपछि पौडेलको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ।
अस्पतालको विज्ञप्ति:
‘दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन। यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय गरिएको छ।’
तर, मेयर आचार्य भने अझै अस्पतालमै रहेका छन्। उनलाई पहिलेदेखि नै उच्च रक्तचापको समस्या रहेकोले हृदयरोग विशेषज्ञसँग थप परामर्श लिइरहेको अस्पतालले जनाएको छ।
अस्पतालमा मेयर आचार्यको थप उपचार:
कीर्तिपुर अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मेयर धनराज आचार्यज्यूको पहिले देखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेको छ। केही दिन थप उपचार गरिने जानकारी गराइन्छ। साथै, मेयरज्यूलाई हुने भेटघाट पनि संक्रमणको जोखिम कम गर्न हाललाई बन्द गरिएको छ।’
शनिबार पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष, २०२५’ घोषणा कार्यक्रममा बेलुन पड्किँदा उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए। उक्त घटनाले समारोहमा उपस्थित सबैलाई स्तब्ध बनाएको थियो। अहिले दुबै जनाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ।





