काठमाडौं, ५ फागुन । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपाली कांग्रेसभित्र अहिले उकुमुकुसको अवस्था रहेको टिप्पणी गरेका छन् । एमालेभित्र पनि त्यस्तै अवस्था रहेको उनको भनाई छ ।
आज विहान प्राइम टिभीबाट प्रसारण भएको ‘प्राइम सम्वाद’ कार्यक्रममा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएर आए एमालेका ८० प्रतिशत नेता तथा कार्यकर्ता भण्डारीकै पक्षमा उभिने दाबी गरे ।
डा. सिंहले अहिले नेपाली जनतामा नैराश्यता बढेको बताउँदै देशको अवस्था अत्यन्तै चिन्ताजनक रहेको उल्लेख गरे । ‘जनताले आशाको कहीँपनि ठाउँ देखिरहेका छैनन्,’ उनले भने, ‘देशबाट युवाहरु पलायन भैरहेका छन् । सरकारकै संरक्षणमा पुँजी पनि पलायन भैरहेको छ । ठूला ठूला विचौलियाको नाममा सरकारी सम्पत्ति कौडीको भाउमा दिने काम भएको छ ।’
उनले सरकारका मन्त्रीहरु कमिशनको खेलमा लिप्त रहेको आरोप लगाउँदै भने, ‘सरकारमा बस्ने प्रधानमन्त्री र मन्त्रीहरुलाई कमिशन दिने, त्यो कमिशनपनि बाहिर नै सेटल हुने । अहिले नेपालको भ्रष्टाचार सिंगापुर, दुवई र बैंककबाट तय हुन्छ । यो बडा डरलाग्दो स्थिति छ ।’
डा. सिंहले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा डरका कारण एकअर्कासँग टाँसिएर बसेको आरोप लगाए । ‘उहाँहरु रहरले होइन, खुशीले होइन, डरले टाँसिएर बस्नुभएको छ,’ उनले भने, ‘सरकारबाट बाहिरिनेबित्तिकै हामीलाई समस्या हुन्छ, जेल जानुपर्छ, मुद्दा लाग्छ भन्ने डर छ ।’
भुटानी शरणार्थी प्रकरणमा शेरबहादुर देउवाको परिवारको संलग्नता रहेको दाबी गर्दै उनले यो कुरा जगजाहेर भइसकेको बताए । यदि जनताको निराशा अझै बढ्दै गए जनताहरु सडकमा आउन बेर नलाग्ने उनको चेतावनी छ ।





