काठमाडौं, ४ फागुन – नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले समग्र अर्थतन्त्र सुधारका लागि सरकारको नीति र योजना के छ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्। आज बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर सेसनमा पुनले यस्तो प्रश्न गरेका हुन्।
पुनले सरकार संसद् छलेर अध्यादेश ल्याएर शासन गर्न खोजेको आरोप लगाउँदै, “दुई तिहाईको सरकारले संसद्मा बहुमत गुमाईसकेको हो र ?” भनेर प्रश्न गरे। जवाफमा प्रधानमन्त्री ओलीले पुनका प्रश्नहरू रुचिकर रहेको बताए।
प्रधानमन्त्री ओलीले पुन नै अर्थमन्त्री भएको समय र त्यसयताको सात महिनाको अवधिमा मूल्यवृद्धिको अनुपात हेर्न सुझाए। उनले पुँजीगत खर्च कम भएको स्वीकार गरे। तर, वर्षमान पुन अर्थमन्त्री हुँदा भन्दा अहिलेको पुँजीगत खर्च बढेको दाबी गरे। ओलीका अनुसार अर्थतन्त्रमा सुधार देखिएको छ।
ओलीले अघिल्लो सरकारले लिएको नीति र प्राथमिकतालाई अलग्गै राखेर अर्थतन्त्र सुधार नभएको भन्ने धारणा उचित नभएको बताए। उनले अहिलेको सरकारले उत्पादन बढाउन जोड दिएको र अन्तर्राष्ट्रिय जगतले नेपाललाई लगानीयोग्य देशका रूपमा हेर्न थालेको दाबी गरे। बैंकको ब्याजदर पनि एकल अंकमा झरेको ओलीको भनाइ छ।
सांसद पुनले विश्वविद्यालयमा लागू गरिएको मेरिटोक्रेसीको विषयमा पनि आपत्ति जनाए। उनले, “शब्दको राम्रो पोशाक लगाएर मेरिटोक्रेसी हुने भए आज विश्वविद्यालयमा जे भइरहेको छ, त्यस्तो हुन्थ्यो र?” भनेर प्रश्न गरे। जवाफमा प्रधानमन्त्री ओलीले मेरिटोक्रेसीको नाममा हिजोको सरकारले बाहिर राम्रो पोशाक लगाउने तर भित्र अर्कै गर्ने काम गरेको आरोप लगाए।
ओलीले प्रचण्ड नेतृत्वको सरकारले मेरिटोक्रेसीको नाममा धिमे र पञ्चे बाजा बजाएर पहिलो हुनेलाई बाहिर गर्ने र दोस्रो हुनेलाई भित्र्याउने काम गरेको आरोप लगाए।
सांसद पुनले अध्यादेश ल्याउने विषयमा प्रश्न उठाएपछि, प्रधानमन्त्री ओलीले पुनले आफैं सरकारमा हुँदा संसद् बस्नुअघि चार दिनअघि मात्रै अध्यादेश ल्याएको दिन सम्झन सुझाव दिए। उनले अध्यादेश प्रक्रियाबाट नै पारित हुने दाबी गरे।





