कसैको पार्टी फुटाइदिने र जोडिदिने मेरो काम होइन, यस्ता खुद्रा विषय मेरो कार्यसूचीमा छैन: प्रधानमन्त्री ओली

२०८१ फाल्गुन ४, आईतवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन सरकारले अध्यादेश ल्याएरै आफ्नो पार्टी फुटाई दिएको तर, अहिलेको सरकारले अध्यादेश ल्याउँदा विपक्षी दलले भ्रम फैलाएको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग सांसद्को प्रश्नोत्तर कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले अध्यादेशको विरोध जनाएपछि ओलीले ०७८ सालमा अध्यादेश ल्याएर एमाले विभाजन गरिएको स्मरण गराएका हुन् । उनले आफूलाई कुनै पनि दल फुटाउन र जोड्ने आफ्नो काम नभएको बताए । ओलीले पार्टी जोड्ने खुद्रा खेलमा आफू नलाग्ने प्रष्ट पारेका छन् ।

“मेरै पार्टी फुटाउनका लागि यहाँहरुले अध्यादेश जारी गर्नुभएको होइन र ? अस्ति अध्यादेश ल्याउनुअघि धेरै हल्ला सुनेँ । पार्टी फुटाउनका लागि ल्याउन लागिएको भनेर । कुनै पार्टी र कसैको पार्टी फुटाइदिने र जोडिदिने मेरो काम होइन । यस्ता खुद्रा विषय मेरो कार्यसूचीमा छैन ।”

प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्ने क्रममा वर्षमानले अध्यादेशको चर्को विरोध गरेपछि ओलीले ०८० सालको वैशाख २० गते सम्झन आग्रह गरे । ०८० वैशाख २० गते संसद्को अधिवेशन आह्वान हुनु ४ दिन अघि अध्यादेश ल्याएको स्मरण गर्न ओलीले वर्षमानलाई आग्रह गरे ।

‘२०८० वैशाख २० गते सम्झन आग्रह गर्छु । त्यतिबेला संसद् सुरु हुनुभन्दा ४ दिन अघि अध्यादेश ल्याएको थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘अध्यादेश ल्याउने अधिकार उहाँ सम्मिलित सरकारलाई मात्रै थियो भन्ने हो भने बेग्लै कुरा हो ।’

ओलीले थपे, ‘तत्कालीन सरकारले ल्याएको अध्यादेशले एमाले विभाजन गर्‍यो । अहिलेको सरकारले ल्याएको अध्यादेशलाई लिएर विपक्षी दलले अनावश्यक हल्ला मच्चाइरहेका छन् । जब आफैंले अध्यादेश ल्याएर पार्टी विभाजन गरिन्छ, त्यसलाई जायज ठहराइन्छ भने अहिले अध्यादेश ल्याउँदा किन विरोध गरिन्छ ?’

प्रधानमन्त्री ओलीले आफु पार्टी फुटाउने वा जोड्ने खेलमा नलाग्ने बताउँदै, देशको समृद्धि, स्थिरता र विकास आफ्नो प्राथमिकता भएको स्पष्ट पारे ।

प्रतिनिधि सभाको बैठकमा अन्य सांसद्हरूले पनि अध्यादेश, सरकारका नीति तथा कार्यक्रम, बजेट, विकास योजनालगायत विभिन्न विषयमा प्रश्न उठाएका थिए । ओलीले ती प्रश्नहरूको जवाफ दिँदै सरकारले मुलुकको समृद्धि र स्थिरताका लागि काम गरिरहेको बताए ।