नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) मा सरकारले बल प्रयोग गरे प्रतिरोध हुने बताएका छन् ।
आज नेकपा माओवादी केन्द्र दमकको दोस्रो नगर अधिवेशन तथा खबरदारी सभामा बोल्दै उनले जबरजस्ती केबलकार बनाए प्रतिकार हुने बताएका हुन । उनले भने,‘मैले संसदबाट पनि बोलेको छु । किरातीहरूको आस्थाको केन्द्र मुक्कुमलुङको समस्याको समाधान सरकारले बल प्रयोग गरेर, प्रहरी लगाएर र गोली हानेर गर्न खोजे दुर्भाग्य हुनेछ । यो समस्याको समाधान वार्ता र समाझदारीको मध्यमबाट समाधान खोजिनुपर्छ। सरकारलाई खबरदारी गर्न चाहान्छु । यो ऐतिहासिक र धार्मिकस्थल समझदारीको साथ अघि बढाउनको सट्टा जवर्जस्ती बल प्रयोग गरियो भने त्यसको प्रतिरोध हुन्छ । त्यो प्रतिरोधमा हाम्रो साथ रहनेछ ।’
सोहीक्रममा अध्यक्ष प्रचण्डले झापाको कमल गाउँपालिकामा निर्माणाधीन आदिवासी रंगशालालाई नाम परिवर्तन गरेर मदन भण्डारी रंगशाला बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन ।





