ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईमाथि मुद्दा चलाउन माग गर्दै दायर रिटमा सुनुवाइ जारी

२०८१ फाल्गुन १,

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा उन्मुक्ति दिइएका पूर्व प्रधानमन्त्रीद्धय डा. बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनुवाइ जारी छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा सो रिटमाथि बहस जारी रहेको छ ।

२०७६ सालमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मन्त्रिपरिषद्को निर्णयका आधारमा भएको ललिता निवासको जग्गा किनबेचका मुख्य हर्ताकर्ता माधव नेपाल र बाबुराम भट्टराईमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा पूर्व प्रधानमन्त्रीद्वयसँगै पूर्व मुख्य सचिव लिलामणी पौड्यालमाथि पनि मुद्दा चलाउनुपर्ने माग गरिएको छ ।

यसअघि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासले निर्णय सुनाउनका लागि २०७९ कात्तिक १५ गतेको मिति तोकेको थियो । तर, सो निर्णय सुनाइनुअघि नै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाएकाले उक्त मुद्दा डिसमिस भयो ।

पछिल्लो पाँच वर्षको अवधिमा यो मुद्दा १८ पटक पेशीमा चढिसकेको छ भने १३ पटक सुनुवाइको पालो आइसकेको छ । तर, अहिलेसम्म कुनै टुंगो लाग्न सकेको छैन । मुद्दाको अन्तिम टुंगो कहिले लाग्ने भन्ने विषयमा भने अझै अनिश्चितता कायम छ ।

यस विषयमा अदालतले आगामी दिनमा के निर्णय लिन्छ भन्ने चासो बढेको छ ।