काठमाडौं, फागुन १। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू अहिले शान्तिपूर्ण क्रान्तिको मोर्चामा रहेको बताएका छन्। ‘जनयुद्ध’को ३०औँ वार्षिकीका अवसरमा बिहीबार भिडियो सन्देशमार्फत् शुभकामना दिँदै उनले समाजवादी क्रान्तिमा लामबद्ध हुने ऐतिहासिक अवसर आफूहरूसामु अझै रहेको बताएका हुन्।
प्रचण्डले जनयुद्धको ऐतिहासिक महत्त्वबारे चर्चा गर्दै भने, ‘जनयुद्ध नभएको भए हामी कहाँ हुन्थियौँ त भन्ने कुरा बुझ्न जरुरी छ। जनयुद्ध नभएको भए अहिले पनि देशमा सामाजिक शोषण हुने थियो। यो देशमा सामन्ती शोषण थियो। एउटा वंश र त्यसका वरिपरि घुम्ने सामन्ती शोषकहरूले जनताको फैसला गर्थे। दलित, महिला, आदिवासी, मधेशी, मुस्लिम, थारू, जनजातिलगायत वर्ग र समुदायमाथि चरम विभेद र उत्पीडन थियो। त्यो स्थितिमा यथास्थितिमा नै टालटुट सुधार गरेर समाजको आमूल परिवर्तन सम्भव थिएन। त्यसकारण प्रतिरोधको अनिवार्यता नै जनयुद्धका रूपमा प्रकट भएको हो।’
अध्यक्ष प्रचण्डले जनताको प्रतिरोधका कारण नै अहिले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता स्थापित भएको उल्लेख गरे। ‘अहिले जनताले चुनिएका प्रतिनिधिबाट संविधान बनेको छ। गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता कायम भएको छ,’ जनयुद्धका उपलब्धि व्याख्या गर्दै उनले भने, ‘यो प्रक्रियामा कतिपय कमी भए तर नियतमा खोट थिएन। अग्रगमनका पक्षमा निरन्तर लागिरह्यौं। कमजोरीको समीक्षा गर्दै अघि बढिरहेका छौं। व्यवस्था बदलियो, अब अवस्था बदल्ने कार्यभार अझै बाँकी छ।’
उनले समाजवादी क्रान्तिको लक्ष्य प्राप्त गर्न अझै लामो यात्रा तय गर्न बाँकी रहेको उल्लेख गरे। ‘हामी शान्तिपूर्ण क्रान्तिको मोर्चामा छौं। तर, समाजवादी क्रान्तिमा लामबद्ध हुने ऐतिहासिक अवसर अझै जीवित छ। हामी सबै एकजुट भएर यो यात्रामा अघि बढ्नुपर्छ,’ उनले जोड दिए।
अध्यक्ष प्रचण्डको नेतृत्वमा २०५२ साल फागुन १ गते देशमा सशस्त्र संघर्ष सुरु भएको थियो। त्यसलाई माओवादी पृष्ठभूमिका दलहरूले ‘जनयुद्ध’का रूपमा मनाउने गरेका छन्। करिब एक दशकसम्म चलेको जनयुद्धपछि नेपालमा गणतन्त्रको स्थापना भएको थियो।





