काठमाडौं, ३० माघ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डिगबहादुर लिम्बूले सरकारमा रहेका मन्त्रीहरूले सम्पत्ति सार्वजनिक नगरेर नैतिक दायित्वसमेत पूरा नगरेको टिप्पणी गरेका छन्।
आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको संवादमा उनले सम्पत्ति सार्वजनिक गर्नुपर्ने नैतिक दायित्व भए तापनि मन्त्रीहरू यसमा चुकेको बताएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको सात महिना बितिसक्दा पनि मन्त्रिमण्डलका सदस्यहरूले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्।
‘सरकारमा गएका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण दिने कुरा नैतिक दायित्व हो। यो नैतिक दायित्वभित्र बस्ने कुरा हो। अब सम्पत्ति विवरण देखा, देखा भनिरहनुपर्ने कुरा होइन। मेरो पोजिसन यो छ भनेर सार्वजनिक गर्ने कुरा सबैको दायित्व हो। त्यही नैतिक दायित्वभित्र सबैले बस्नुपर्छ भनेर हामीले भनिरहेकै छौं,’– लिम्बूले भने।
यस्तै, उनले फरक प्रसंगमा अहिलेको राजनीति बुढाखाडाहरूको हातमा रहेको बताए। संसदीय व्यवस्थामा संख्याको आधारमा राजनीति चल्ने उल्लेख गर्दै उनले त्यो संख्या सबै दलमा बुढाखाडा नेताहरूको हातमा रहेको धारणा राखे। आफूहरूले गगन थापालाई नेपाली कांग्रेस संसदीय दलको नेता बनाउन प्रयास गरे तापनि मत परिवर्तन गर्न नसकेको उनले बताए।
‘सबै पार्टीमा त्यही बुढाहरूसँग नै संख्या छ। के गर्नु त संख्या उनीहरूसँगै छ। विकल्प भनेर हामीले खोज्यौं, तपाईंलाई थाहा छ त। तर, हामीले विकल्प दिन सकेनौं। संख्या शेरबहादुरसँगै छ। विस्तारै–विस्तारै विधि प्रक्रिया मिलाएर उनीहरूलाई विदा दिने कुरा आउँछ। हामीले त गगन थापाजीलाई संसद्को नेताको रूपमा उभ्यायौं त। तर, जनमत आउन सकेन। टाउको ठोकेर हुँदैन,’– लिम्बूले भने।
उनको भनाइ अनुसार, नेपाली राजनीति परिवर्तनको संघारमा छ, तर नेतृत्व हस्तान्तरण सहज छैन। नयाँ पुस्तालाई अगाडि बढाउने प्रक्रिया सहज रूपमा अघि बढ्न नसकेको उनले बताए।





