आज पनि संसद्‌ बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, माघ २९

प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गरिने कार्यसूची रहेको छ।

संघीय संसद् सचिवालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ लाई प्रतिनिधि सभामा प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ। उक्त विधेयकले नेपालको व्यापार नीति सुधार गर्ने तथा निर्यात-आयात प्रक्रियालाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। साथै, सो विधेयकलाई पारित गराउनका लागि प्रस्ताव पनि पेस गरिनेछ।

सरकारले भ्रष्टाचार नियन्त्रणलाई थप प्रभावकारी बनाउन विधेयक संशोधन ल्याएको बताइएको छ। यस विधेयकले कानुनी प्रक्रिया मजबुत बनाउँदै भ्रष्टाचार विरुद्धको कानुनी दायरालाई अझ कडा बनाउने अपेक्षा गरिएको छ।

यसअघि संसद्मा प्रस्तुत गरिएका अन्य विधेयकहरूमाथि पनि आजको बैठकमा छलफल हुने सम्भावना रहेको छ। प्रतिनिधि सभाको बैठकलाई प्रभावकारी बनाउन संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ।