राष्ट्रियसभा अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै

 सङ्घीय संसद राष्ट्रियसभा अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।

आज विधायन व्यवस्थापन समिति, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

जस अनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सिमेन्ट लगायतका निर्माण सामग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा राष्‍ट्रिय निकुञ्‍जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको समाधानको सम्बन्धमा प्राप्त सुझावहरुमाथि छलफल हुने कार्यसूची रहेको छ ।