प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संघर्ष जनयुद्ध नभएर हिंसा भएको दोहोर्याएका छन् ।
सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले सो कुरा दोहोर्याएका हुन् । प्रजातन्त्र दिवसको सन्दर्भमा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरंकुशतन्त्र र प्रतिगमनलाई नेपाली जनताको बलिदानी संघर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तरमा समेत मनाउन आग्रह गरे ।
उनले भने,‘यो दिवसलाई केवल माथिको आदेश–निर्देशका भरमा मनाउने औपचारिक दिवस मनाउनु हुँदैन । यसलाई जनताको कार्यक्रम बनाउने गरी तयारी गर्नुपर्छ ।’मुलुकका लागि यो सबैभन्दा ठूलो परिवर्तन ल्याउने दिन भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने,
‘यहाँ हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरू छन्, तर त्यत्रो परिवर्तनलाई मान्न नरुचाउने तत्त्वहरू छँदै छन् । प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन । यस दिवसलाई भव्यताका साथ मनाउनुपर्छ ।’
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन गरेको छ ।





