कांग्रेस नगर कार्यसमितिका सभापति मृत फेला

कञ्चनपुरमा नेपाली कांग्रेस भीमदत्त नगर कार्यसमितिका सभापति अच्युत कलौनी मृत फेला परेका छन्।शनिबार बिहान भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोकनजिक कलौनीको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार सडक पेटीमा घोप्टो परेको अवस्थामा कलौनीको शव भेटिएको छ।अहिले घटनास्थलमा प्रहरी पुगेको छ। घटनास्थललाई सिल गरिएको छ। चिकित्सकसहित टोली मगाइएको प्रहरीले जनाएको छ। मृत्युको कारण खुलेको छैन। 

नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा आएका कलौनी हाल भीमदत्त नगर कार्यसमितिको सभापति थिए।नेपाल विद्यार्थी संघको केन्द्रीय सहमहामन्त्री समेत भइसकेका उनी महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष थिए।