प्रधानमन्त्री ज्यु सहकारी ठगीमा तपाईंको पार्टीको मान्छेले एक दिनपनि हिरासत बस्न नपर्ने: राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारले रवि लामिछानेमाथि प्रतिशोध साँधेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘एक जना पार्टीका अध्यक्ष ८४ दिनसम्म हिरासतमा बस्नुभयो, त्यही प्रकृतिको मुद्दामा त्योभन्दापनि ठूलो सहकारीकै सञ्चालक भएका मान्छेले एक दिनपनि हिरासत बस्न नपर्ने ? तपाईंको पार्टीको मान्छेले ? मैले रवि लामिछानेले हिनामिना गर्नुभएको छैन, बदमासी गर्नुभएको छैन भनेर वकालत गर्दिनँ । त्यो न्याय निरुपणको विषय छ । कानून त बराबर लाग्नुपर्छ होला नि त । एउटा मान्छलेले अदालतसम्म पुग्नको लागि ८४ दिनसम्म हिरासत बस्नुपर्ने ? अरु खुत्रुक्कै अदालतमा हाजिर भएर घर जान पाउनुपर्ने ? यो कस्तो व्यवस्था हो ? यो पक्षपात र दुरुपयोग हो कि होईन त ?’

लिङ्देनले सरकारले रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको डण्डा चलाएको पनि बताए । उनले प्रधानमन्त्रीसहित सबै नेताहरुको पनि सम्पत्ति छानबिन र शुद्धीकरण हुनुपर्ने माग गरे ।

यसैगरी संसदको हिउँदे अधिवेसनको पहिलो दिन सम्बोधन गर्दै अध्यक्ष लिङदेन प्रहरी प्रमुख बसन्तराज कुवँर माथि छानबिन गर्नु पर्ने माग गरेका हुन् ।

‘यही प्रहरी प्रमुखले राज्य व्यवस्था समितिमा आएर रबि लामिछाने माथि मुद्दा परेको छैन भन्नुभयो, अहिले फेरी उहाँको नेतृत्वमा रबि लामिछाने माथी मुद्दा चलाउने काम उहाँ माताहातबाट भयो, त्यसैले उनी माथी छानबिन हुनुपर्छ’ उनले भने ।