ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा प्रहरीले बजार बन्द गराउँदै हिँडिरहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पहिचानवादी मोर्चाको ताप्लेजुङ जिल्ला संयोजक, ५२ वर्षीय प्रदीप मादेन रहेका छन्।
प्रहरीका अनुसार मादेन सोमबार भएको हुलदंगा घटनाका नेतृत्वकर्ता हुन्। सोमबार पाथीभरा क्षेत्रको बलुडाँडामा केबलकारको विरोधमा उत्रिएका पहिचान पक्षधर र प्रहरीबीच दोहोरो झडप भएको थियो। सो क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका थिए।
प्रहरीले दमन गरेको आरोप लगाउँदै केबलकारको विरोधमा रहेका पहिचान पक्षधरले मंगलबारदेखि ताप्लेजुङ र प्रवेश नाकामा अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्।
बन्दका कारण चारपाङ्ग्रे सवारी साधन चल्न सकेका छैनन् भने बजार, विद्यालय, र कलकारखाना भने खुला रहेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका डीएसपी रवि रावलले जानकारी दिए। बन्दको घोषणा भएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको समेत उनले बताए।





