८ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ।
आज बिहान ८ बजेदेखि सुरु भएको उम्मेदवारी दर्ता साँझ ६ बजेसम्म जारी रहनेछ। अनलाइन माध्यमबाट उम्मेदवारी दर्ता भइरहेको अखिल क्रान्तिकारीका फ्र्याक्सन इञ्चार्ज हिमाल शर्माले जानकारी दिएका छन्।
माघ १२ मा निर्वाचन
नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारहरूबीच माघ १२ गते निर्वाचन हुने तालिका छ। यसअघि, गत असोज १० देखि १४ गतेसम्म काठमाडौंको कीर्तिपुरमा सम्पन्न राष्ट्रिय सम्मेलनमा उमेर हद कायम गर्ने कि नगर्ने भन्ने विषयमा विवाद उत्पन्न भएपछि नेतृत्व चयन नगरी सम्मेलन स्थगित गरिएको थियो।
त्यसपछिको छलफल र तयारीपछि बल्ल नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा सुरु भएको हो।
३२ वर्ष उमेर हदको निर्णय
अखिल क्रान्तिकारीमा उमेर हद कायम गर्ने कि नगर्ने भन्ने विवादलाई गत सम्मेलनको क्रममा निर्वाचनमार्फत टुंगो लगाइएको थियो। ३२ वर्ष उमेर हद लगाउने कि खुला गर्ने भन्ने विषयमा भएको मतदानमा ३२ वर्ष उमेर हद लागू गर्ने पक्षमा बहुमत आएको थियो।
त्यस नतिजाअनुसार अहिले ३२ वर्ष उमेर हदसम्मका व्यक्तिहरूले मात्र उम्मेदवारी दर्ता गराइरहेका छन्।
सहमतिको प्रयास जारी
निर्वाचन प्रक्रियासँगै सहमतिको प्रयास पनि जारी रहेको नेताहरूले बताएका छन्। फ्र्याक्सन इञ्चार्ज शर्माले नयाँ नेतृत्व चयनका लागि सहमति जुटाउने प्रयास भइरहेको जानकारी दिएका छन्।
सहमतिको प्रयासमा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, फ्र्याक्सन इञ्चार्ज हिमाल शर्मा, निवर्तमान अध्यक्ष पञ्चा सिंह, र अध्यक्षका दाबेदार नेताहरूबीच लगातार छलफल भइरहेको छ। सोमबार पनि उनीहरूबीच सहमतिको सम्भावना खोज्न बैठक बसेको थियो।
तर हालसम्म सहमति जुट्न सकेको छैन।
गुटगत प्रतिस्पर्धा
अखिल क्रान्तिकारीको नेतृत्वमा पुग्न गुटगत प्रतिस्पर्धा चर्किएको छ। अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, र जनार्दन शर्माका निकट नेताहरूबीच राजनीतिक लबिङ र रस्साकस्सी जारी छ।
अध्यक्षको दौडमा रहेका नेताहरूले आ-आफ्नो पक्षमा समर्थन जुटाउन तिव्र प्रयास गरिरहेका छन्।
नयाँ नेतृत्वप्रति चासो
नयाँ कार्यसमिति चयनका लागि जारी प्रक्रिया र गुटगत प्रतिस्पर्धाले विद्यार्थी संगठनका सदस्य र आम पार्टी कार्यकर्ताको चासो बढाएको छ।
संगठनको नयाँ नेतृत्वले विद्यार्थी आन्दोलन र संगठनलाई नयाँ मोड दिने अपेक्षा गरिएको छ। आगामी दिनमा सहमति हुने या निर्वाचनको माध्यमबाट नेतृत्व चयन हुने विषयले संगठनको आन्तरिक एकतालाई अझै प्रभावित गर्ने देखिन्छ।





