भीम रावलको अभियानलाई नै सघाउँछुः  पूर्वमन्त्री सुवेदी

नेकपा एमालेको सङ्गठित सदस्यबाट हटाउन सिफारिस भएका सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले एमालेले औपचारिक निर्णय गरेमा भीम रावलको अभियानलाई सहयोग गर्ने प्रतिक्रिया दिएका छन् ।

एमालेबाट कारबाहीमा परेका नेता भीम रावललाई भेट्दैमा आफूहरूलाई पनि निष्कासनको सिफारिस गरिएको उनको आरोप छ ।

 उनले भने, ‘मलाई पार्टीले कारबाही गरेको निर्णयबारे औपचारिक जानकारी आइसकेको छैन । तर, भीम रावल मेरा आदरणीय नेता हुन् । उनी आउँदा म भेट्न गएको थिएँ । भीम रावललाई नभेट्नू भनेर पार्टीले सर्कुलर पनि गरेको छैन । एउटा नेतालाई भेट्न जाँदा पार्टीबाट निष्कासन गर्छ भने त्यो नेकपा एमाले र त्यसको नेताहरूको स्वेच्छाचारिता र तानाशाही प्रवृत्ति हो ।’


सुवेदीले आफूलाई जबरजस्ती गरिएकै हो भने भीम रावललाई सम्मान गर्दै उनकै मातृभूमि जागरण अभियानलाई सघाउने समेत बताए ।

‘रावललाई भेट्दैमा उतै लागेको आरोप लगाइन्छ भने, समाचारमा आए जस्तो कारबाही गरिएकै हो भने भीम रावललाई समर्थन हो । उहाँको अभियानलाई समर्थन नै हो । उहाँकै पक्षमा उभिन्छु’, उनले भने ।

एमाले कैलालीको शनिबार बसेको जिल्ला सचिवालय बैठकबाट पूर्वमन्त्री सुवेदी र उनका छोरा तथा जिल्ला सदस्य भीष्मराज सुवेदीलाई पार्टीको सङ्गठित सदस्य समेत नहरने गरी निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।